कप्तान ज्ञानेन्द्रको शतकसँगै पदक होडमा फर्कियो नेपाल

काठमाडौं (खेलदैनिक) । कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतकीय पारी खेलेपछि १३औं सागको पुरुष क्रिकेटतर्फ नेपालले बिहीबार भुटानमाथि १४१ रनको जित हात पारेको छ ।

टियु इन्टरनेशनल क्रिकेट ग्राउण्डमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३६ रनको योगफल तयार पारेको थियो । नेपालको पारीमा कप्तान ज्ञानेन्द्रले १०७ रनको शतकीय पारी खेले ।

ज्ञानेन्द्रले आफ्नो पारीमा ९ छक्का र ५ चौका प्रहार गरे । अर्का ओपनर पारस खड्काले पनि ५७ रनको पारी खेले भने दिपेन्द्र सिंह ऐरीले नटआउट ४५ रन बनाए ।

उता जवाफी लक्ष्य पछ्याएको भुटानले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भुटानका लागि रन्जंग दोर्जीले सर्वाधिक २७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पारस खड्काले २ विकेट लिए भने पवन सर्राफ, ललित राजवंशी र करन केसीले समान १–१ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच शतकीय पारी खेलेका ज्ञानेन्द्र मल्ल घोषित भए ।

आफ्नो पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको नेपालले यो जितसँगै प्रतियोगितामा आफ्नो पदक होडलाई कायम राखेको छ । नेपालले आफ्नो तेस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ ।

(तस्विर : विकेटनेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...