१३औं साग: महिला क्रिकेटमा नेपालको फराकिलो हार

काठमाडौं (खेलदैनिक) । आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि शानदार जित निकालेको महिला क्रिकेट टोलीले बुधबार पदकको दावेदार बंगलादेशसँग १० विकेटको फराकिलो हार बेहोरेको छ ।

पोखरामा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा ५० रन बनाउँदै अलआउट भएको थियो । कप्तान रुबिना क्षेत्रीले १३ तथा सोनु खड्काले १२ रन बनाउनु बाहेक अन्य नेपाली खेलाडीले खासै गतिलो योगदान दिन सकेनन् ।

बंगलादेशका लागि प्लेयर अफ द म्याच समेत घोषित रयिबा खानले ४ विकेट लिईन् । आफ्नो स्पेलमा ४ ओभर बलिङ गरेकी रबियाले २ मेडन राख्दै ८ रन मात्र दिईन् । त्यस्तै जहानरा आलमले २ तथा सलमा खातुन, नाहिदा अक्तर, फहिमा खातुनले १–१ विकेट लिए ।

उता सहज जित निकालेको बंगलादेशले ब्याटिङमा ७.४ ओभर टिक्दै बिना कुनै विकेटको क्षतिमा ५१ रन बनाएर जित हात पारेको थियो । बंगलादेशका लागि ओपनरद्व आयशा रहमान र मुर्शिदा खातुनले २६ र २३ रनको नटआउट पारी खेले ।

जारी प्रतियोगितामा बंगलादेशको यो लगातार दोस्रो जित हो । यो जितपछि ४ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा छ भने २ अंकका साथ नेपाल दोस्रो स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

(तस्विर सांभार : विकेटनेपाल)


प्रतिक्रिया दिनुहोस

Loading...