दिपेन्द्रको शानदार ब्याटिङले पनि जोगिएन नेपालको हार

काठमाडौं (खेलदैनिक) । १३औं सागतर्फ नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा पदकको दावेदार मानिएको श्रीलंका यु–२३ टोलीसँग ६ विकेटको हार बेहोरेको छ ।

टियु इन्टरनेशनल क्रिकेट मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ७२ रन बनाए । आक्रमक पारी खेलेको दिपेन्द्रले आफ्नो पारीमा ४ चौका र ३ छक्का समेत प्रहार गरे । त्यस्तै पवन सर्राफले २२ रनको योगदान दिए भने कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले २१–२१ रन बनाए ।

उता जवाफी लक्ष्य पछ्याएको श्रीलंकाले भने १९.१ ओभरमा ४ विकेट गुमाएर १७५ रन बनाउँदै जित हात पारेको थियो । श्रीलंकाका लागि पनि मध्यक्रमका शम्मु असनले नटआउट ७२ रन बनाए । त्यस्तै ओपनरद्वय निशान मदुश्का र पथुम निसंकाले क्रमश ४६ र ३० रनको योगदान दिए ।

खेलको म्यान अफ द म्याच श्रीलंकाका शम्मु असन घोषित भए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले २ विकेट लिए भने सुसन भारी र सोमपाल कार्मीले १–१ विकेट हात पारे । प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल बिहीबार भुटानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...