साग क्रिकेट अभ्यास खेलमा नेपाल ए द्वारा माल्दिभ्स पराजित

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास खेलका रुपमा बिहीबार भएको खेलमा नेपाल ए क्रिकेट टिमले माल्दिभ्सलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालद्वारा माल्दिभ्स ४९ रनले पराजित भएको हो । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रनको योगदान दिए भने अमित श्रेष्ठले २९ रन बनाए । त्यस्तै ओपनरद्वय रित गौतम तथा सुवास खकुरेलले क्रमशः २५ तथा २० रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको माल्दिभ्सले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । बलिङतर्फ नेपालका लागि नन्दन यादव र आकाश चन्दले समान २–२ विकेट लिए । त्यसैगरी शेर मल्ल र मन्जित श्रेष्ठले १–१ विकेट हात पारे ।

स्मरण रहोस, सागको पुरुष क्रिकेटतर्फ नेपालले आफ्नो पहिलो खेल आउँदो मंगलबार टियु क्रिकेट मैदानमा श्रीलंका यु–२३ क्रिकेट टोलीसँग खेल्दैछ । पुरुष क्रिकेटतर्फ नेपालसहित सार्क राष्ट्रका बंगलादेश, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटानले सहभागिता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...