पाकिस्तानलाई पहिलोपटक इमर्जिङ टिम्स एसिया कपको उपाधि

काठमाडौं (खेलदैनिक) । यस बर्षको एसीसी इमर्जिङ टिम्स एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपटक पाकिस्तानले जितेको छ ।

ढाका स्थित शेर–ए–बंगला नेशनल क्रिकेट स्टेडियममा भएको फाइनल भिडन्तमा पाकिस्तानको यु–२३ टोलीले आयोजक बंगलादेश यु–२३ लाई ७७ रनले हराउँदै उपाधि जित्न सफल भएको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि रोहेल नाजिरले ११३ रनको शानदार शतकीय पारी खेले । इमरान रफिकले पनि ६२ रनको योगदान दिए ।

बलिङतर्फ बंगलादेशका लागि सुमोन खानले ३ विकेट लिए भने हसन महमुदले २ तथा मेहदी हसनले १ विकेट आफ्नो खातामा पारे । फेरि जवाफी लक्ष्य पछ्याएको बंगलादेश भने ४३.३ ओभरमा २२४ रन बनाउँदै अलआउट हुन पुगेको थियो ।

घरेलु टोलीका लागि अफिफ होसेनले ४९ रन बनाए भने कप्तान नजमुल होसेनले ४६ रनको पारी खेले । तल्लो क्रमका ब्याट्सम्यान मेहदी हसनले पनि ४२ रन बनाए तर टोलीलाई हारबाट जोगाउन भने सकेनन् ।

स्मरण रहोस, सेमिफाइनलमा पाकिस्तानले परस्पर प्रतिद्वन्द्वी भारतलाई पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच पाकिस्तानका लागि शतकीय पारी खेलेका रोहेल नाजिर घोषित भए । त्यस्तै म्यान अफ द सिरिज भने बंगलादेशका सौम्य सकार चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...