इमर्जिङ टिम्स एसिया कपमा नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । महत्वपूर्ण मानिएको खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै नचलेपछि एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालको चुनौति समूह चरणबाटै समाप्त भएको छ ।

सोमबार सावरमा भएको समूह बी तर्फको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग ८ विकेटको फराकिलो अन्तरले हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३८ रनको योगफल तयार पारेको थियो । माथिल्लो ब्याट्सम्यानहरु टिक्न नसकेको खेलमा नेपालको पारी सोमपाल कार्मीले ३८ रन बनाउँदै उकासेका थिए । कामी वाहेक ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्लले पनि २२ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि सुमोन खान र मिन्हाजुल अफ्रिदीले समान ३–३ विकेट लिए । त्यस्तै तनविर इस्लाम र मेहदी हसनले समान २–२ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको बंगलादेशले भने निर्धारित लक्ष्य २४ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदै भेट्टाएको थियो । बंगलादेशका लागि कप्तान नजमुल हसनले ५९ रनको नटआउट पारी खेले । त्यस्तै ओपनर मोहम्मद नैमले पनि ४५ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करन केसी र सुशन भारीले एक–एक विकेट लिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट समूह चरणबाटै बाहिरिएको छ भने बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी बाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो भारत र हङकङबीचको खेलबाट लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...