नेदरल्याण्डसमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं (खेलदैनिक) । ओमानमा जारी पाँच देशीय टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार मस्कटमा भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ४ विटको रोमाञ्चक जित हात पार्यो । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा पनि हङकङमाथि ४ विकेटको जित निकालेको थियो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले नेदरल्याण्डसलाई १३३ रनमा अलआउट गरेको थियो । नेदरल्याण्डसका लागि ओपनर म्याक्स ओ डौडले ४३ रनको पारी खेले । त्यस्तै कोलिन एकरम्यानले पनि २९ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने र करन केसीले समान ४–४ विकेट लिए भने ललित राजवंशीले १ विकेट आफ्नो खातामा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाउँदै रोमाञ्चक जित हात पार्यो । नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका करन केसीले नटआउट ३१ रन बनाए । त्यस्तै ओपनर तथा कप्तान पारस खड्काले पनि ३३ रनको योगदान दिए । बिनोद भण्डारीले पनि २६ रनको महत्वपूर्ण पारी खेले ।

यो जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकाको दोस्रो स्थानमा छ । आयोजक ओमानको पनि समान ४ अंक भए तापनि राम्रो रनरेटका आधारमा घरेलु टोली शिर्ष स्थानमा छ । सिरिज अन्तरगत नेपालले आफ्नो तेस्रो खेल टेष्ट राष्ट्र आयरल्याण्डसँग बुधबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...