पेन्टान्गुलर टि–२० सिरिज : नेपालको बिजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । ओमानमा जारी पाँचदेशीय ट्रि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाली क्रिकेट टोलीले बिजयी शुरुवात गरेको छ । मस्कटमा भएको आफ्नो पहिलो खेलमा नेपालल हङकङलाई ४ विकेटले हरायो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई निर्धारित २० ओभरमा १२५ रन मात्र बनाउन दियो । हङकङका लागि वकास बरकतले सर्वाधिक ३७ रन बनाए भने कप्तान किन्चित शाहले ३१ रनको योगदान दिए ।

उता कसिलो बलिङ गरेको नेपालका लागि करन केसीले चार ओभरमा ३६ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै अविनाश बोहराले १ विकेट हात पारे ।

जवाफी लक्ष्य पछ्याएको नेपालको शुरुवात पनि खासै राम्रो हुन सकेन । कप्तान तथा ओपनर पारस खड्का शून्य रनमै आउट भएपछि नेपाली टोली दबाबमा आएको थियो ।

यद्यपि मध्यक्रमका बिनोद भण्डारीले ५८ रनको नटआउट पारी खेलेपछि नेपालले १९ ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाउँदै जित हात पारेको थियो । त्यस्तै नेपालका लागि आरिफ शेखले पनि २१ रनको महत्वपूर्ण योगदान दिए ।

नेपालले आज सोमबार आफ्नो दोस्रो खेल नेदरल्याण्डससँग खेल्दैछ । सिरिजमा नेपालसँगै, हङकङ, आयोजक ओमान, नेदरल्याण्डस र आयरल्याण्ड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...