ट्राई सिरिज : सिंगापुरसँग नेपालको बदला, कप्तान पारसको शतक

काठमाडौं (खेलदैनिक) । तीन देश सम्मिलित अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्न सिंगापुरमा रहेको नेपाली क्रिकेट टोलीले सिंगापुरमाथि शानदार र फराकिलो जित हात पारेको छ । यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो ।

इण्डियन एसोसिएशन ग्राउण्डमा भएको आफ्नो दोस्रो खेलमा नेपालले सिंगापुरमाथि ९ विकेटको जित निकाल्यो । साथै यो जितसँगै नेपालले गत जुलाईमा सोही मैदानमा सिंगापुरसँग आइसीसी टि–२० विश्वकप छनौटको क्षेत्रीय प्रतियोगितामा बेहोरेको ८२ रनको हारको बदला समेत लिएको छ ।

शनिबार टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको थियो । सिंगापुरका लागि कप्तान टिम डेभिडले ६४ रनको नटआउट पारी खेले । त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन बनाए भने जनक प्रकाश २५ रनमा नाबाद रहे ।

बलिङतर्फ नेपालका लागि करन केसीले २ विकेट लिए भने सुशन भारीले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्काको नटआउट शानदार शतकको सहयोगमा १६ ओभरमा १ विकेट गुमाएर १५४ रन बनाउँदै जित हासिल गरेको थियो । खड्काले ५२ बलमा नटआउट १०६ रन बनाउँदै अन्तर्राष्ट्रिय टि–२० मा शतक बनाउने पहिलो नेपाली क्रिकेटर समेत बने ।

खड्का बाहेक आरिफ शेख पनि ३७ रनमा नाबाट रहे । बलिङतर्फ सिंगापुरका लागि जनक प्रकाशले एक मात्र विकेट आफ्नो नाममा लेखाए ।

सिरिज अन्तरगत नेपालले आफ्नो तेस्रो खेल अक्टुबर १ तारीख मंगलबारका दिन जिम्बाब्वेसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...