लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलंकामा रहेको नेपाली युवा क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ । प्रतियोगिताको समूह बी मा रहेको नेपालले आइतबार आफ्नो दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटको हार बेहोरेको हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग पराजित भएको थियो ।

कोलोम्बोमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनर पवन सर्राफको शानदार ८१ रनको सहयोगमा ८ विकेट गुमाएर २६१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालका लागि सन्दिप जोराले पनि ५६ रनको अर्धशतकीय पारी खेले भने अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए ।

बलिङतर्फ बंगलादेशका लागि तान्जिम हसन सकिब र शाहिन आलमले समान २–२ विकेट लिए । त्यस्तै मृतुन्जय चौधरी, रकिबुल हसन, मिन्हाजुर रहमान र तोहिम हृदयले १–१ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको बंगलादेशले ४९.२ ओभरमा ४ विकेट गुमाएर २६२ रन बनाउँदै जित हासिल गरेको थियो । बंगलादेशका लागि म्यान अफ द म्याच समेत घोषित कप्तान अकबर अलीले ९८ रनको नटआउट पारी खेले । त्यसैगरी तोहिद हृदयले ६० रन बनाए भने शमिम होसेन ४२ रनमा नटआउट रहे । महमुदुल हसन जोयले पनि ४० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि कमल सिंह ऐरीले २ विकेट लिए भने रशिद खान र हरि चौहानले १–१ विकेट हात पारे । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार युएईसँग खेल्नेछ । समूह बी मा नेपाल र युएई दुवै अंकविहीन छन् । उता ४–४ अंक जोडेका बंगलादेश र श्रीलंका भने सेमिफाइनलमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...