यु–१९ एसिया कप : नेपाल पहिलो खेलमै श्रीलंकासँग भिड्ने

काठमाडौं (खेलदैनिक) । यहि आउँदो ५ देखि १४ सेप्टेम्बरसम्म श्रीलंकामा हुन गईरहेको एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितातर्फ नेपालले आफ्नो पहिलो खेल नै आयोजक श्रीलंकासँग खेल्ने भएको छ । श्रीलंका गत संस्करणको उपविजेता समेत हो ।

प्रतियोगितातर्फ आयोजक श्रीलंका, बंगलादेश र युएईसँगै समूह बी मा परेको नेपालले श्रीलंकासँग ६ सेप्टेम्बरका दिन खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल ८ सेप्टेम्बरका दिन बंगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा नेपालले १० सेप्टेम्बरका दिन युएईको सामना गर्नेछ ।

त्यस्तै समूह ए मा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनलतर्फको दुवै खेलहरु सेप्टेम्बर १२ तारीखका दिन हुनेछ । त्यस्तै १३ सेप्टेम्बरमा आराम दिइएको छ भने १४ सेप्टेम्बरमा फाइनल हुनेछ ।

स्मरण रहोस, गत बर्ष बंगलादेशमा सम्पन्न प्रतियोगितातर्फ नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यतिबेला भारतले फाइनलमा श्रीलंकालाई हराउँदै छैठौंपटक उपाधि माथि कब्जा जमाउन सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...