टि–२० विश्वकप छनौट : नेपालको ग्लोबल छनौट खेल्ने सपना समाप्त

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० विश्वकपको एसिया छनौटतर्फ निर्णायक मानिएको खेलमा पराजित भएपछि नेपालको गलोबल छनौट खेल्ने सपना समाप्त भएको छ । आइतबार इण्डियन एसोसिएशन ग्राउण्डमा आयोजक सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको लगातार दोस्रोपटक टि–२० विश्वकप खेल्ने सपना तुहिएको हो ।

खेलमा टस हार्दै पहिले बलिङको निम्तो पाएको नेपालले निकै खर्चिलो बलिङ गर्यो । नेपाल विरुद्ध आक्रमक देखिएको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको फराकिलो योगफल तयार पारेको थियो । सिंगापुरका लागि म्यान अफ द म्याच समेत घोषित टिम डेविडले ७७ रनको पारी खेले भने मनप्रित सिंहले ४२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले ४ ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए भने करन केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । नेपालका अन्य बलरहरु भने निकै खर्चिला देखिए । यसअघि उत्कृष्ट प्रदर्शन गरेका स्पीनरद्वय बसन्त रेग्मी र सन्दिप लामिछानेले बिना कुनै विकेट लिई क्रमश ५४ र ३४ रन खर्चिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपाल भने १५ ओभरमा १०९ रन मात्र बनाएर अलआउट भयो । शुरुवातबाटै धरमराएको नेपालको पारी फेरि कहिल्यै लयमा फर्केन । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले मात्र सर्वाधिक ३९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३ रनको योगदान दिए । यसअघि कुवेत विरुद्ध उत्कृष्ट पारी खेलेका कप्तान पारस खड्का १२ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपाल दबाबमा परेको थियो ।

उता बलिङतर्फ सिंगापुरका लागि एस बिजयकुमारले सर्वाधिक ४ विकेट लिए भने विनोत बासकरनले २ विकेट हात पारे । त्यस्तै जनक प्रकाश, अमजद महबुब र अनन्त कृष्णले समान १–१ विकेट आफ्नो नाममा लेखाए । यो जितसँगै सिंगापुरले यहि आउँदो अक्टुबर ११ तारीखदेखि युएईमा हुने ग्लोबल छनौट खेल्ने पक्का भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...