टि–२० विश्वकप छनौट : सिंगापुरको दोस्रो जित, नेपाललाई फाईदा

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकपको एसियाली छनौटतर्फ आयोजक राष्ट्र सिंगापुरले दोस्रो जित हात पारेको छ । शुक्रबार इण्डियन एशोसिएशन ग्राउण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हरायो ।

खेलमा टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको सिंगापुरले मलेसियालाई १८.४ ओभरमा ९२ रनमै अलआउट गरेको थियो । उता जवाफी लक्ष्य पछ्याएको सिंगापुरले भने केवल १३.२ ओभरमा २ विकेट गुमाएर ९६ रन बनाउँदै आठ विकेटको उत्कृष्ट जित हात पारेको थियो ।

यो नतिजासँगै नेपालको ग्लोबल छनौट खेल्ने सम्भावना केही सहज भईदिएको छ । ३ खेलबाट ५ अंक जोडेको सिंगापुर शिर्ष स्थानमा छ र उसले खेल्न बाँकी एक मात्र खेल नेपालसँग आइतबार खेल्नेछ । त्यस्तै दुई खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ र नेपालले दुई खेल खेल्न बाँकी छ । ३ अंक जोडेको कुवेत तेस्रौ स्थानमा छ ।

जसअन्तरगत शनिबार नेपालले कुवेतको सामना गर्दैछ । यदि नेपालले शनिबार कुवेतलाई र आइतबार सिंगापुरलाई हराउन सके नेपालले विश्वकपको ग्लोबल छनौट खेल्ने पक्का हुनेछ । उता ३ खेलबाट २–२ अंक जोडेका मलेसिया र कतार भने प्रतियोगिताबाट बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...