टि–२० विश्वकप छनौट : कुवेतसँग कतार पराजित

म्यान अफ द म्याचको पुरस्कार लिंदै कुवेतका अदनान इद्रीस ।

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकपको एसिया छनौटतर्फ शुक्रबार कुवेतले कतारमाथि रोमाञ्चक जित हात पारेको छ । इण्डियन एसोसिएशन ग्राउण्डमा रनको बर्षा भएको खेलमा कुवतेले कतारमाथि १० रनको जित निकाल्यो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको कुवेतले अदनान इद्रीसको अर्धशतकीय पारीको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको योगफल तयार पारेको थियो । इद्रीसले ५६ रनको महत्वपूर्ण पारी खेले । कुवेतका लागि इद्रिस बाहेक कप्तान मुहम्मद काशिफले पनि ४३ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको कतारले भने निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान तमूर सज्जादले ४६ रनको नटआउट पारी खेले तापनि टोलीको हार टार्न सकेनन् । त्यस्तै नुमन सरवरले पनि नाबाद ३४ रन बनाए । त्यसैगरी इना मुल हकले २८ तथा ओपनर फैसल जावेदले २४ रन बनाए पनि त्यो प्रर्याप्त बनेन ।

यो नतिजापछि ३ खेलबाट ३ अंक जोडेको कुवेत दोस्रो स्थानमा उक्लिएको छ । उता कतार भने २ अंकका साथ पुछारमा छ । उता २ अंकका साथ चौथो स्थानमा रहेको नेपालले शनिबार कुवेतको सामना गर्दैछ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ । जसमा नेपालको जित बाहेक अन्य विकल्प रहने छैन ।

स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा कतारसँग मंगलबार ४ विकेटले पराजित भएको थियो । त्यस्तै २ खेलबाट ३ अंक जोडेको सिंगापुर राम्रो रनरेटका आधारमा शिर्ष स्थानमा छ र घरेलु टोलीले शुक्रबार नै मलेसियाको सामना गर्दैछ । नेपालसँग हार बेहोरे तापनि २ अंकका साथ तेस्रो स्थानमा रहेको मलेसियाको पनि विश्वकप छनौटको यात्रा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...