नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

काठमाडौं (खेलदैनिक) । बिनोद भण्डारीले किर्तिमानी प्रदर्शन गरेपछि नेपालले मलेसिया विरुद्ध अन्तर्राष्ट्रिय टि–२० सिरिजमाथि ऐतिहासिक रुपमा २–० ले क्लीन स्वीप गरेको छ । आइतबार भएको दोस्रो खेलमा नेपालले घरेलु टोलीमाथि ६ रनको रोमाञ्चक जित हात पार्यो ।

यसअघि दुई म्याचको सिरिजतर्फ शनिबार भएको पहिलो खेलमा पनि नेपालले ७ विकेटको जित हात पारेको थियो । नेपालको अन्तर्राष्ट्रिय टि–२० क्रिकेटको इतिहासमा यो पहिलो क्लीन स्वीप उपाधि समेत हो । यसअघि युएई विरुद्ध पनि नेपालले टि–२० सिरिज २–१ ले जितेको थियो । तर त्यो क्लीन स्वीप भने होइन ।

किनारा ओभलमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालका लागि बिनोद भण्डारीले किर्तिमानी नटआउट ५१ रनको अर्धशतकीय पारी खेले । साथै भण्डारी अन्तर्राष्ट्रि टि–२० म्याचमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने खेलाडी समेत बने ।

भण्डारीले अर्धशतक पूरा गर्ने क्रममा केवल २५ बलको सामना गरे । यसअघि यो किर्तिमान शनिबार मात्र पारस खड्काले बनाएका थिए । खड्काले त्यतिबेला ३२ बलमा अर्धशतक पूरा गरेका थिए । आइतबार भण्डारीले आफ्नो पारीमा ५ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै शरद भेषवाकरले पनि ४० रन बनाए भने ओपनर तथा कप्तान पारस खड्काले २३ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि ओपनर शइद अजिज मुबारकले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै ओपनर विरनदिप सिंहले २३ रन बनाए भने अमिनुद्दिन रमलीले २४ रनको योगदान दिए । त्यसबाहेक मुहम्मद रम्लीले पनि २१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कार्मी र सन्दिप लामिछानेले २–२ विकेट लिए भने करन केसी, अविनाश बोहरा र पारस खड्काले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।


प्रतिक्रिया दिनुहोस

Loading...