विश्वकप छनौट खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई

सिंगापुरमा हुने वल्र्ड कप क्वालिफायर दोश्रो चरणको तयारी तथा अभ्यास खेल खेल्न मंगलबार मलेसिया प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम बिदाइ पछि सदस्य–सचिव रमेशकुमार सिलवालसंग सामूहिक तस्वीर खिचाउदै । नेपालले मलेसियासंग दुई टी– २० खेल्ने छ ।

काठमाडौं (खेलदैनिक) । मलेसिया विरुद्ध अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । मलेसिया विरुद्ध दुई अन्तर्राष्ट्रिय टि–२० म्याच खेल्ने नेपाली टोली बिदाई लगतै मंगलबार मलेसियातर्फ प्रस्थान समेत गरेको हो ।

नेपाली क्रिकेट टोलीले नवनियुक्त राखेपका सदस्य सचिव रमेश सिलवालले एक कार्यक्रमकाबीच बिदाई गरे । नेपालले मलेसियासँग यहि जुलाई १३ र १४ तारीख (असार २८ र २९ गते) दुई टि–२० म्याच खेल्नेछ । मलेसिया विरुद्धको सिरिज पछि नेपाली टोली उतैबाट आइसीसी टि–२० क्रिकेट विश्वकपको एसियाली छनौट खेल्न सिंगापुरतर्फ लाग्नेछ ।

नेपालले आफ्नो पहिलो खेल २३ जुलाईका दिन कतारसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै २४ जुलाईका दिन मलेसियासंग खेल्नेछ भने २७ जुलाईमा कुवेतसंग भिड्नेछ । त्यसैगरी २८ जुलाईका दिन आयोजक सिंगापुरसंग अन्तिम खेल खेल्नेछ । प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा हुनेछन् ।

सिंगापुरमा हुने छनौट प्रतियोगिताको शिर्ष स्थानमा नेपाल पर्न सके नेपालले ग्लोबल छनौट खेल्न पाउनेछ । जुन युएईमा ११ अक्टुबरदेखि ३ नोभेम्बरसम्म हुनेछ । ग्लोबल छनौटमा एसियाको एक र अन्य क्षेत्रका स्कटल्याण्ड, जिम्बाब्वे, नेदरल्याण्डस, हङकङ, ओमान, आयरल्याण्ड र आयोजक युएईले प्रतिस्पर्धा गर्नेछन् ।

ग्लोबल छनौटमा कुल १४ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् र शिर्ष ६ मा पर्ने टोलीहरुले सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप खेल्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...