अपराजित नेपाल एसीसी यु–१९ इष्टर्न रिजन च्याम्पियन

काठमाडौं (खेलदैनिक) । प्रतियोगिताभरि अपराजित रहेको नेपालले मंगलबार एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । किनारा ओभलमा भएको फाइनल भिडन्तमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई ४३.१ ओभर बलिङ गर्दै ९५ रनमा अलआउट गरेको थियो । हङकङका लागि आदित गोरावाराले सर्वाधिक २४ रन बनाए भने ओपनर कल्हान मार्क चल्लुले १९ रनको योगदान दिए ।

उता बलिङतर्फ प्रतियोगिता भरि उत्कृष्ट लयमा देखिएका नेपालका सागर ढकालले १० ओभरमा १८ रन खर्चेर ५ मेडन राख्दै सर्वाधिक ५ विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए भने कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट हात पारे ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर ९६ रन बनाउँदै जित हात पारेको थियो । नेपालका लागि ओपनर पवन सर्राफले ३९ रनको पारी खेल्दै जितको आधार तयार पारेका थिए । त्यस्तै अर्का ओपनर रीत गौतमले १३ रन बनाए भने रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । नेपालले १६ रन त अतिरिक्त पाएको थियो ।

उपाधि जित्ने क्रममा प्रतियोगिताभरि अपराजित रहेको नेपालले समूह चरणमा चीन र सिंगापुरलाई हराएको थियो भने सेमिफाइनलमा सोमबार आयोजक मलेसियालाई पराजित गरेको थियो । यो जितसँगै नेपालले एसिया कपमा पनि स्थान बनाउन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...