सहज जितका साथ नेपाल फाइनलमा

काठमाडौं (खेलदैनिक) । सहज जितका साथ दावेदार मानिएको नेपाल जारी एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४०.३ ओभरमा कसिलो बलिङ गर्दै ८७ रनमा अलआउट गरेको थियो । मलेसियाका लागि मुहम्मद आमिरले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य कुनै घरेलु ब्याट्सम्यान टिक्न सकेनन् ।

उता बलिङतर्फ नेपालका लागि सागर ढकालले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट हात पारे । त्यस्तै कमल सिंह ऐरी, रशिद खान र तिलक सिंह भण्डारीले समान १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर ९० रन बनाउँदै उत्कृष्ट जित हात पार्यो । नेपालका लागि भिम सार्की र रोहित कुमार पौडेलले नटआउट क्रमश ३३ र ३१ रन बनाए भने ओपनर पवन सर्राफले पनि १८ रनको योगदान दिए ।

नेपालले फाइनलमा उपाधिका लागि सोमबार नै सेलंगोर टर्फ क्लबमा जारी सिंगापुर र हङकङबीचको अर्को सेमिफाइनल विजेतासँग भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...