एसीसी यु–१९ क्रिकेट : नेपालले सेमिफाइनलमा घरेलु टोलीको सामना गर्ने

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्ने भएको छ । समूह ए मा रहेको नेपालले शानदार र शतप्रतिशत जितका साथ सेमिफाइनल यात्रा तय गरेको थियो ।

समूह चरणतर्फ नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले तथा सिंगापुरलाई २१७ रनको भारी अन्तरले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको थियो । समूह ए बाट नेपालसँगै सिंगापुरले पनि समूह उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

त्यस्तै समूह बी मा रहेको मलेसियाले खेलेको ३ खेलमा २ जित र १ हारका साथ ४ अंक जोड्दै समूह उपविजेता बनेको थियो । मलेसियाले आफ्नो एक मात्र खेल समूह बी को विजेता बनेको हङकङसँग हारेको थियो । त्यस्तै अर्को सेमिफाइनलमा समूह बी को विजेता हङकङले समूह ए को उपविजेता सिंगापुरसँग खेल्नेछ ।

सेमिफाइनलतर्फ सोमबार नेपालले किनारा ओभलमा मलेसियाको सामना गर्नेछ भने सोही दिन सेलंगोर टर्फ क्लबमा हङकङ र सिंगापुर पनि आमने सामने हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...