
काठमाडौं (खेलदैनिक) । लगातार दोस्रो उत्कृष्ट जितका साथ नेपपाल जारी एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको भारी अन्तरले हरायो ।
किनारा ओभलमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ओपनर रित गौतमको नकटआउट ११५ रनको शतकीय पारीको सहयोगमा ४ विकेट गुमाएर ३२६ रनको योगफल तयार पारेको थियो । नेपालको पारीमा खडक बहादुर बोहराले पनि ९० रन बनाए भने अर्का ओपनर पवन सर्राफले ४५ रनको पारी खेले ।
उता जवाफी लक्ष्य पछ्याएको सिंगापुर भने ३९.१ ओभरमा १०९ रन बनाएर अलआउट हुन पुग्यो । सिंगापुरका लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै ओपनर कन्नुसामी सतिशले पनि २४ रनको योगदान दिए ।
उता बलिङमा पनि कसिलो देखिएको नेपालका लागि कुशल मल्लले सर्वाधिक ४ विकेट लिए । त्यस्तै तिलकराज भण्डारीले २ विकेट लिंदा रशिद खान र सागर ढकालले समान १–१ विकेट हात पारे ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यो जितसँगै २ खेलबाट ४ अंक जोडेको नेपाल समूह ए को शिर्ष स्थानमा छ र समूह विजेता बनेको छ । सेमिफाइनलमा नेपालले समूह बी को उपविजेतासँग खेल्नेछ ।
त्यस्तै २ खेलबाट २ अंक जोडेको सिंगापुर पनि समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सिंगापुरले भने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ ।