एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट : नेपालसामू चीन निरीह

काठमाडौं (खेलदैनिक) । एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको भारी अन्तरले हराएको छ ।

मलेसिया स्थित किनारा ओभलमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन मै अलआउट गरेको थियो । नेपालका लागि म्यान अफ द म्याच समेत घोषित सागर ढकालले सर्वाधिक ६ विकेट लिए । त्यस्तै तिलकराज भण्डारीले ३ विकेट हात पारे भने कमल सिंह ऐरीले १ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने केवल ५ ओभरमा बिना कुनै विकेटको क्षतिमा ५७ रन बनाएर फराकिलो जित हात पारेको थियो । नेपालका लागि ओपनर पवन सर्राफ एक्लैले नटआउट ४६ रन बनाए भने अर्का ओपनर रित गौतमले १० रनको योगदान दिए ।

लगातार दोस्रो हार बेहोरेको चीन प्रतियोगिताबाट बाहिरिएको छ । उता नेपाल भने सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । नेपालले आफ्नो दोस्रो खेल अब शुक्रबार सिंगापुरसँग खेल्नेछ । समूह ए बाट नेपालसँगै सिंगापुर पनि सेमिफाइनलमा प्रवेश गर्यो । शुक्रबारको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...