पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट उपाधि विजेता नेपाल प्रहरी टोली ।

काठमाडौं (खेलदैनिक) । ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले शनिबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । किर्तिपुर मैदानमा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको आर्मीले ३३.३ ओभरमा सबै विकेट गुमाएर १२५ रनको झिनो योगफल मात्र तयार पार्न सक्यो । आर्मीका लागि ओपनरद्वय सोमपाल कार्मी र राजु रिजालले क्रमश ३५ र ३२ रनको योगदान दिए । त्यस्तै भिम सार्कीले पनि २० रन बनाए ।

उता बलिङतर्फ पुलिसका लागि म्यान अफ द म्याच समेत घोषित ललित राजवंशीले ९.३ ओभर बलिङ गर्दै १ मेडन राखेर ३६ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै पवन सर्राफले पनि ४ विकेट लिए भने सागर ढकालले एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको पुलिसले पनि जित हात पार्न संघर्ष गर्नुपर्यो । निर्धारित लक्ष्य पछ्याउन ४०.३ ओभरसम्म संघर्ष गरेको पुलिसले ६ विकेटको क्षतिमा १२६ रन बनाएर जित हात पार्यो । पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ४४ रन बनाए भने सुनिल धमलाले ४२ रनको नटआउट पारी खेले ।

बलिङतर्फ आर्मीका लागि करन केसीले ३ विकेट लिए भने शाहब आलमले २ विकेट हात पारे । त्यस्तै सुसन भारीले पनि एक विकेट लिए । प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका पुलिसका ललित राजवंशी प्लेयर अफ द सिरिज समेत घोषित भए ।

विजेता बनेको पुलिसले उपाधिसहित नगद २० लाख हात पारेको छ भने उपविजेता आर्मीले १० लाखमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...