प्रधानमन्त्री कप क्रिकेट शुरु, आर्मीको उत्कृष्ट शुरुवात

काठमाडौं (खेलदैनिक) । शुक्रबारदेखि शुरु प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा राजु रिजाल र विनोद भण्डारीको अर्धशतक तथा बलिङमा सहाब आलाम र सुशान भारीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मीले १७२ रनको जितका साथ विजयी शुरुआत गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा आर्मीका राजु रिजाल र विनोद भण्डारीले पहिलो विकेटका लागि १२१ रनको बलियो सुरुआत गरेपछि आर्मीले प्रदेश २ लाई २७९ रनको लक्ष्य दिएको थियो । आर्मीले निर्धारित ५० ओभरमा २७८ रन बनाउँदा ९ विकेट गुमाएको थियो ।

आर्मीका लागि राजु रिजालले ९० रनको उत्कृष्ट पारि खेले । यसैगरी अर्का ओपनर विनोद भण्डारीले ६७ रन जोडेका थिए । प्रदेश २ का हरि शंकर शाहले ३ तथा रासिद खान, विशाल सुस्लिग, सांम्सद शेख र विवेक यादवले समान एक एक विकेट लिए ।

२ सय ७९ रनको लक्ष्य लिएर मैदान उत्रेको प्रदेश दुई ३१.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमै रोकियो । प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक २१ रन जोडे । २८ बल खेलेका उनले ४ चौका प्रहार गरे । यस्तै सामसद शेख १६, सुधीर चौधरी १५ र राशिद खान १४ रनमा आउट भए ।

प्रदेश दुईलाई सो स्कोरमा रोक्न आर्मीका सहाब आलमले ४ तथा सुशान भारीले ३ विकेट लिए । यस्तै जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट बाँडे । ९ ओभर बलिङ गरेका सहाबले २९ रनमात्रै खर्चे । यस्तै ६.४ ओभर बलिङ गरेका सुशानले १ ओभर मेडन राख्दै २० रनमात्रै दिए ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा शुक्रबारबाट शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए ।

जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने भनेपनि मुलपानी मैदान तयार नभएका कारण उद्घाटन खेल कीर्तिपुरमा आयोजना गरिएको हो ।

सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० सहभागी टिमहरुलाई दुई समूहमा बाडिएको छ । समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने व्यवस्थापक नेपालयका अध्यक्ष प्रधानले बताए । क्याचको प्रायोजकको रुपमा एक्सपर्ट रहेको छ । १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेपले उपलब्ध गराउँनेछ । त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...