एसीसी यु–१६ क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा सम्पन्न एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि नेपालले कब्जा जमाएको छ । आइतबार भएको फाइनल खेलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो । नेपालको पारीमा प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने ओपनर दिपक बोहराले २३ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको मलेसिया भने ३४.५ ओभर खेल्दै ८१ रनमा अलआउट भयो । मलेसियाका लागि मुहम्मद हाजिक आइमनले १८ रनको योगदान दिंदा ओपनर मुहम्मद आजमले १६ रन बनाए ।

त्यस्तै कसिलो बलिङको नमुना प्रस्तुत गरेको नेपालका लागि विशाल कुमार पटेलले ४ विकेट लिए भने दिपक बोहराले ३ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै निखिल कुमार सिंह र कृष कार्कीले समान १–१ विकेट लिए ।

खेलमा अलराउण्ड प्रदर्शन गरेका नेपालका दिपक बोहरा म्यान अफ द म्याच घोषित भए । त्यस्तै नेपाल कै बिशाल विक्रम केसी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

सिंगापुरलाई तेस्रो स्थान

त्यसैगरी आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरले हङकङलाई ८१ रनले हरायो । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले ३५ ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो । उता जवाफी लक्ष्य पछ्याएको हङकङ भने २८.३ ओभरमा ९१ रन बनाएर अलआउट भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...