उपाधिका लागि नेपाल र मलेसिया भिड्ने

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल संघर्षपुर्ण जितका साथ फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल भिडन्तमा नेपालले हङकङलाई ४ विकेटले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले हङकङलाई ३२.२ ओभर बलिङ गर्दै ८६ रनमा अलआउट गरेको थियो । हङकङका लागि आरुष भागवतले ४३ रनको नटआउट पारी खेल्नु बाहेक अन्य कुने ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

बलिङतर्फ नेपालका लागि म्यान अफ द म्याच समेत घोषित निखिल कुमार सिंहले ४ विकेट लिए । त्यस्तै रमेश कुर्मी र विशाल कुमार पटेलले २–२ विकेट लिए भने तिलकराज भण्डारीले एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने २१.४ ओभरमा ६ विकेट गुमाएर ८७ रन बनाउँदै जित हात पारेको थियो । नेपालका लागि आइष भट्टराईले सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रोहन बिकले १४ रन बनाउँदा कृष कार्कीले १२ रनको योगदान दिए ।

अब नेपालले फाइनलमा आइतबार मलेसियाको सामना गर्नेछ । मलेसियाले शनिबार नै भएको अर्को सेमिफाइनलमा सिंगापुरलाई ५७ रनले हराएको थियो । त्यस्तै आइतबार नै हुने तेस्रो स्थानका लागि सिंगापुर र हङकङ पनि आमने सामने हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...