नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल नतिजाबिहीन

थाइल्याण्ड विरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । (तस्विर : एसीसी)

काठमाडौं (खेलदैनिक) । जारी एसीसी यु–१६ इष्टर्न रिजन च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तरगत अन्तिम खेलमा नेपाल र आयोजक थाइल्याण्डबीचको खेल नतिजाविहीन रुपमा टुँगिएको छ ।

बिहीबार भएको समूह ए तर्फको अन्तिम खेल खराब मौसमका कारण नतिजाविहीन रुपमा टुँगिएको थियो । खेलमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि आइष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै विशाल बिक्रम केसीले ३८ रन बनाउँदा ओपनर दिपक बोहराले ३५ रनको योगदान दिए । त्यसैगरी बिशाल कुमार पटेल र निखिल कुमार सिंहले पनि क्रमश २८ र २२ रनको योगदान दिए ।

उता जवाफी पारी शुरु गरेको आयोजक थाइल्याण्डले भने १.५ ओभरमा १ विकेट गुमाएर रनविहीन अवस्थामा रहँदा बर्षा र चट्याङ पर्न थालेपछि खेल बिथोलिएको थियो । त्यसपछि पनि राम्रो मौसमको पर्खाइमा रहँदा पनि मौसमले साथ नदिंदा खेल नतिजाविहीन रुपमा टुँगिएको थियो ।

बिहीबारको नतिजापछि समूह ए मा ३ खेलबाट ५ अंक जोडेको नेपाल शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो र सेमिफाइनलमा समेत प्रवेश गर्यो । नेपालले शनिबार सेमिफाइनलमा समूह बी को उपविजेता हङकङको सामना गर्नेछ ।

त्यस्तै ४ अंक जोडेको मलेसिया समूह ए को उपविजेता बन्यो र सेमिफाइनलमा प्रवेश गर्यो । मलेसियाले सेमिफाइनलमा शनिबार नै समूह बी को विजेता सिंगापुरको सामना गर्नेछ । त्यसका साथै समूह ए बाट थाइल्याण्ड र म्यानमार तथा समूह बीबाट भूटान र चीन प्रतियोगिताबाट बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...