आइसीसी यु–१९ विश्वकप छनौट : नेपालको तेस्रो जित

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी आइसीसी एसिया यु–१९ क्रिकेट विश्वकप छनौटतर्फ नेपालले तेस्रो सफलता हात पारेको छ । सेलंगोर टर्फ क्लबमा भएको आफ्नो चौथो खेलमा नेपालले मंगलबार ओमानमाथि १५० रनको जित हात पारेको हो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै ७५ रन बनाए । त्यस्तै तल्लो क्रमका ब्याट्सम्यान प्रतिश जिसीले ४१ रन बनाउँदा भिम सार्कीले ३९ रनको अहम योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको ओमान भने ४४.१ ओभर खेल्दै ७९ रनमा अलआउट हुन पुगेको थियो । ओमानका लागि अमनप्रित सिराह र जील तन्नाले समान १३–१३ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ३ विकेट लिए भने सुर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट हात पारे । त्यस्तै कुशल मल्ल र कमल सिंह ऐरीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

खेलमा नेपालका रोहित पौडेल म्यान अफ द म्याच घोषित भए । यो जितपछि ४ खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । उता ४ खेलबाट ८ अंक जोडेको युएई शिर्ष स्थानमा यथावत छ । त्यस्तै समान ६ अंक भए तापनि नेट रनरेटका आधारमा नेपाल भन्दा पछि पार्दै कुवेत तेस्रो स्थानमा छ । समान २–२ अंक जोडेको कुवेत र सिंगापुर चौथो र पाँचौं स्थानमा छन् भने अंकविहीन मलेसिया पुछारमा छ ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ । यद्यपि विश्वकपमा छनौट हुनका लागि नेपालले सोही दिन हुने युएई र ओमानबीचको खेलको नतिजा पनि पर्खनु पर्नेछ । सो खेलमा युएई पराजित भए र नेपालले आफ्नो खेलमा जित हात पारे नेपाल आइसीसी यु–१९ विश्वकपका लागि छनौट हुने सम्भावना लगभग निश्चित बन्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...