यु–१९ विश्वकप छनौट : बर्षा बाधक बन्दा दोस्रो खेलमा नेपालको दुर्भाग्यपुर्ण हार

काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी आइसीसी एसिया यु–१९ क्रिकेट विश्वकप छनौटको दोस्रो खेलमा नेपालले युएईसँग १ रनको झिनो अन्तरले हार बेहोरेको छ । निरन्तर बर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुईस नियमका आधारमा नेपाल १ रनको झिनो अन्तरले पराजित भएको हो ।

क्वालालम्पुर स्थित किनरारा एकेडेमी ओभलमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि हरि चौहानले नटआउट ६७ रन बनाउँदा भिम सार्कीले ५३ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको युएईले भने ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा बर्षाले खेल बिथोलिएको थियो । त्यसपछि लगातार बर्षाका कारण खेल हुन नसकेपछि डकवर्थ लुईस नियमका आधारमा युएईलाई १ रनले बिजयी घोषणा गरिएको थियो ।

खेलमा नेपालका हरि चौहान म्यान अफ द म्याच घोषित भए । यो हारसँगै नेपालको विश्वकप छनौटको यात्रा केही कठिन भईदिएको छ । नेपालले अब आफ्नो बाँकी सबै खेल जित्नुपर्नेछ भने अन्य टोलीहरुको खेलको नतिजामा पनि भर पर्नुपर्नेछ । नेपालले आफ्नो तेस्रो खेल सोमबार आयोजक मलेसियासँग खेल्नेछ भने मंगलबार ओमानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल बिहीबार कुवेतसँग खेल्नेछ ।

अंकतालिमा ४–४ अंक जोडेका कुवेत र युएई क्रमश पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान २–२ अंक जोडेका नेपाल र ओमान तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन मलेसिया र सिंगापुर पाँचौं र छैठौं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...