यु–१९ क्रिकेट विश्वकप छनौट : सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार शुरुवात

काठमाडौं (खेलदैनिक) । मलेसियामा शुरु आइसीसी एसिया यु–१९ क्रिकेट विश्वकप छनौटतर्फ नेपाली टोलीले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । बलिङ र ब्याटिङ दुवैमा सन्तुलित देखिएको नेपालले शुक्रबार सिंगापुरलाई २१७ रनको भारी अन्तरले हरायो ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभर खेल्दै सबै विकेट गुमाएर २८२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको शानदार पारी खेले । त्यस्तै रशिद खानले पनि ४८ रन बनाए भने ओपनर पवन सर्राफले ४७ रनको योगदान दिए ।

बलिङतर्फ सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक ४ विकेट लिंदा राउल शर्म र विनित मेहताले २–२ विकेट लिए । त्यस्तै प्रमेश सिंघवीले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको सिंगापुर भने ३१ ओभर खेल्दै ६५ रन बनाएर अलआउट हुन पुग्यो । सिंगापुरका लागि इशान सावनीले मात्र २८ रनको योगदान दिए भने ओपनर साइ भेनुगोपालले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि पवन सर्राफले ३ विकेट लिए । त्यस्तै सुर्य तामाङ र कुशल मल्लले २–२ विकेट लिए भने रशिद खानले एक विकेट आफ्नो नाममा लेखाए । शुक्रबारको खेलमा नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका पवन सर्राफ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ । युएईले शुक्रबार नै भएको खेलमा आयोजक मलेसियालाई ५ विकेटले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...