
भैरहवा (खेलदैनिक) । प्रदेश ५ स्तरयी टी–२० क्रिकेट छनोट प्रतियोगितामा बिहीबार भएको खेलमा दाङलाई १४ रनले पराजित गर्दै पाल्पा जिल्ला सेमिफाइनलमा पुगेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाल्पाले २० ओभरको खेलमा ७ विकेट क्षतिमा ११९ रनको योगफल बनायो ।
उसका लागि दिनेशजंग बुद्धमगरले नटआउट २७, संजीव चित्राकारले २७, रुपेश बश्यालले २३ र सागर थापाले २० रन बनाए । बलिङमा दाङका अमित तामाङ, विरु घर्तीमगर, विष्णुसिंह ठकुरी, पजविर सिंह र तुलाराम घर्तीले समान १–१ विकेट लिए ।
त्यस्तै १२० रनको जवाफी लक्ष्य पछ्याएको दाङले ९ विकेट क्षतिमा १०५ रन मात्रै बनाई हार व्यहोर्यो । उसका लागि विराट भण्डारीले २३, विष्णुसिंह ठकुरीले २१ र सुशान्तसिंह थापाले १८ रन बनाए पनि जितका लागि प्रर्याप्त भएन । बलिङमा पाल्पाका रुपेश बश्यालले ३, सुरेश गोदार र मोहन भुसालले २–२, नरेश कुमार सार्की र सागर थापाले १–१ विकेट लिए ।
पाल्पाका रुपेश बश्याल खेलमा म्यान अफ दी म्याच घोषित भए । शुक्रबार सेमिफाइनलको पहिलो खेल रुपन्देही र नवलपरासी तथा दोस्रो खेल बाँके र पाल्ला जिल्लाबीच हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट चैतमा हुने आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तर जिल्लाबीच खेल भइरहेको छ । यहाँबाट उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेशको एउटा टिम बनाई आठौंमा सहभागी गराइनेछ ।