प्रदेश ५ छनौट : नवलपरासीद्धारा बर्दिया पराजित

नवलपरासी पश्चिम र बर्दिया बिचको खेलमा ब्याटिंग गर्दै बर्दियाका खेलाडी ।

भैरहवा (खेलदैनिक) । नवलपरासी पश्चिमले बर्दियालाई ८ विकेटले पराजित गर्दै आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश नम्बर ५ स्तरीय टि –२० क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि सोमबारबाट भैरहवामा सुरु भएको प्रदेश नम्बर ५ को टि –२० क्रिकेट छनोट प्रतियोगिताको अन्तरजिल्ला खेलमा नवलपरासी पश्चिमले बर्दियालाई हराउन सफल भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा जितका लागि बर्दियाबाट पाएको १०३ रनको लक्ष्य नवलपरासीले १३ ओभर ३ बलमा २ विकेट क्षतिमा पूरा गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । नवलपरासी पश्चिमको जितमा सद्दाम अली अन्सारीले ३२ (नटआउट), विनोद कुर्मीले २८ तथा जितेन्द्र साहनीले २३ (नटआउट) रन बनाए । बलिङमा बर्दियाका समिर आचार्यले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले २० ओभरको खेलमा ९ विकेट गुमाई १०२ रन बनाएको थियो । जसमा समिर आचार्यले १८, हर्षल भण्डारीले १७ र प्रकाश न्यौपानेले १६ रन बनाएका थिए । नवलपरासीका एकलाख अहम्मदले ४ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिए । एकलाख खेलका ‘म्यान अफ द म्याच’ समेत बने ।

त्यसैगरी दिलिप कुर्मीले २ विकेट लिए । मंगलबार पहिलो खेल रुपन्देही र रोल्पा तथा दोस्रो खेल बाँके र अर्घाखाँचीबीच हुने प्रतियोगिता ब्यबस्थापन गरेको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगितामा १२ जिल्ला रहेको प्रदेश ५ अन्तर्गत प्यूठान र रुकुम पुर्ब बाहेकका रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, पाल्पा, गुल्मी ,अर्घाखाँची, बाँके, दाङ, बर्दिया र रोल्पा गरी १० जिल्ला सहभागी छन् ।

आठौंका लागि उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेश पाँचको टिम बनाइने छ । नकआउट प्रतियोगिताको फाइनल फागुन २५ गते हुनेछ । छनोट खेलको सोमबार एक कार्यक्रमबीच प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्घाटन गर्दै राज्यले क्रिकेटसहित अन्य खेलकुदलाई विशेष प्राथमिकता दिइ अघि बढ्नु पर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस

Loading...