डिपिएल : कप्तान दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोस्रो जित

(तस्विर : क्रिकनेपाल)

धनगढी (खेलदैनिक) । कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गर्दै कप्तानी पारी खेलेपछि सिवाइसी अत्तरिया लगातार दोस्रो जितका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पारेको थियो । अत्तरियाका लागि म्यान अफ द म्याच समेत घोषित कप्तान दिपेन्द्र सिंंह ऐरीले ६७ रनको कप्तानी पारी खेले ।

उता बलिङतर्फ रुपन्देहीका लागि ललित भण्डारीले ३ विकेट लिए भने विक्रम सोवले २ विकेट हात पारे । त्यस्तै बसन्त रेग्मी र पुनित मेहराले समान १–१ विकेट लिए ।

त्यस्तै जवाफी लक्ष्य पछ्याएको रुपन्देही भने अत्तरियाका बलरहरुको कसिलो बलिङ सामू निरीह बन्दै २० ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रनको नटआउट पारी खेले ।

बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट हात पार्दा कमल सिंह ऐरीले १ विकेट लिए ।

यो जितसँगै २ खेलबाट ४ अंक जोडेको अत्तरिया शिर्ष स्थानमा छ । त्यस्तै समान ४–४ अंक भए तापनि नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...