डिपिएल : गोल्डेन्सको लगातार दोस्रो जित

धनगढी (खेलदैनिक) । अंकित दबासले शानदार नटआउट ६५ रनको पारी खेलेपछि धनगढी प्रिमियर लिगतर्फ काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले हरायो । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको गोल्डेन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३४ रनको योगफल तयार पारेको थियो । गोल्डेन्सका लागि म्यान अफ द म्याच समेत घोषित अंकित दबासले ६५ रन बनाउनु बाहेक योगेन्द्र कार्कीले पनि नटआउट २२ रनको योगदान दिए ।

बलिङतर्फ महेन्द्रनगरका लागि अमर रुटेलाले २ विकेट लिए भने अविनाश बोहरा, सागर डकाल र मोहम्मद नाविदले समान एक–एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको महेन्द्रनगरले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका लागि अमर रुटेलाले सर्वाधिक २८ रनको नटआउट पारी खेले । कप्तान शरद भेषवाकरले पनि २३ रनको योगदान दिए, तर टोलीलाई जित दिलाउन भने सकेनन् ।

बलिङतर्फ गोल्डेन्सका लागि रशेद खानले ३ विकेट लिंदा अंकित दबासले २ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै योगेन्द्र कार्की, ललित राजवंशी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

लगातार दोस्रो जित हात पारेको गोल्डेन्स २ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा छ । समान ४ अंक भए तापनि राम्रो रनरेटका आधारमा रुपन्देही च्यालेन्जर्स शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...