डिपिएल : घरेलु टोली धनगढीको लगातार दोस्रो हार

खेलको म्यान अफ द म्याच पुरस्कार ग्रहण गर्दै अत्तरियाका सन्नी पटेल ।

धनगढी (खेलदैनिक) । धनगढी प्रिमियर लिगतर्फ घरेलु टोली धनगढी स्टार्सले मंगलबार लगातार दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग हार बेहोरेको धनगढीले मंगलबार सिवाइसी अत्तरियासँग ५ रनले पराजित हुन पुग्यो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको धनगढीले उत्कृष्ट बलिङ गर्दै अत्तरियालाई निर्धारित २० ओभरमा ९५ रन मात्र बनाउन दियो । अत्तरियाका लागि म्यान अफ द म्याच समेत घोषित सन्नी पटेलले ३५ रनको योगदान दिए भने ओपनर जयकिशन कोल्सवालाले २१ रन बनाए ।

बलिङतर्फ धनगढीका लागि रोहन मुस्तफाले २ विकेट लिंदा सोमपाल कामी, आमिर ह्यात र बिपीन खत्रीले समान १–१ विकेट हात पारे ।

उता सामान्य लक्ष्य पछ्याएको धनगढीले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । धनगढीका लागि राजु रिजालले नटआउट २६ रन तथा ओपनर रोहन मुस्तफाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् ।

अत्तरियाका लागि भुवन कार्की एक्लैले चार विकेट लिए भने सन्नी पटेलले २ विकेट हात पारे । त्यस्तै दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान १–१ विकेट लिए ।

यो जितसँगै २ अंक जोडेको अत्तरिया राम्रो रनरेटका आधारमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै लगातार दोस्रो हार बेहोरेको धनगढी भने अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...