डिपिएल शुरु, काठमाडौं गोल्डेन्सको बिजयी शुरुवात

(तस्विर : विकेटनेपाल)

धनगढी (खेलदैनिक) । सोमबारदेखि शुरु प्रतिष्ठित धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको टोली काठमाडौं गोल्डेन्सले बिजयी शुरुवात गरेको छ ।

धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई प्रतिस्पर्धात्मक खेलमा ४ विकेटले हरायो ।

टस जित्दै पहिले फिल्डिङ रोजेको गोल्डेन्सले धनगढीलाई निर्धारित २० ओभरमा १३२ रन मात्र बनाउन दियो । धनगढीका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन बनाउँदै प्रतियोगिताको पहिलो अर्धशतक पूरा गरे । त्यस्तै सन्दिप रजालीले २८ रन बनाए भने सौरभ खनालले २५ रनको नटआउट पारी खेले ।

बलिङतर्फ गोल्डेन्सका लागि नन्दन यादवले दुई विकेट लिए भने ललित राजवंशी र अंकित दबासले १–१ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको गोल्डेन्सले अन्तिम ओभरको पाँचौं बलमा ६ विकेट गुमाएर १३३ रन बनाउँदै संघर्षपुर्ण जित हात पार्यो । गोल्डेन्सका लागि म्यान अफ द म्याच समेत घोषित अंकित दबासले सर्वाधिक २९ रन बनाए भने ओपनरद्वय गोरव तोमर र अनिल साहले क्रमश २८ र २४ रनको महत्वपूर्ण योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल भने केवल ३ रनको व्यक्तिगत स्कोरमा आउट हुन पुगेका थिए ।

बलिङतर्फ धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ४ विकेट लिए भने विपीन खत्री र अमिर ह्यातले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।


प्रतिक्रिया दिनुहोस

Loading...