आईसीसीको आधिकारिक ब्राण्ड बन्यो कोका–कोला

काठमाडौं (खेलदैनिक) । विश्वचर्चित पेय पदार्थ कोका–कोलाले क्रिकेटको विश्वव्यापी प्रायोजनका रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) सँग साझेदारी गरेको छ ।

सम्झौताअनुसार कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारको रुपमा पाँच बर्षका लागि आईसीसीको आधिकारीक पेयपदार्थ पार्टनर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी मातहतको सम्पूर्ण क्रिकेट गतिविधिहरुमा प्रायोजन गर्नेछ ।

कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन गईरहेको आईसीसी पुरुष विश्वकप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–२० विश्वकप, न्यूजिल्याण्डमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्नेछ ।

कोका–कोला कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।

नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहकार्य गरेर धेरै जिल्लास्तरीय र अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...