अन्तर्राष्ट्रिय टि–२० मा पनि नेपाललाई ऐतिहासिक सिरिज

काठमाडौं (खेलदैनिक) । अन्तिम तथा निर्णायक मानिएको तेस्रो टि–२० म्याचमा पनि घरेलु टोली युएई विरुद्ध १४ रनको जित हात पार्दै नेपालले पहिलो अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएको छ ।

यो सँगै नेपालले युएई विरुद्धको टि–२० सिरिजमाथि २–१ ले कब्जा जमायो । यसअघि नेपालले युएई विरुद्ध नै ऐतिहासिक एकदिवसीय सिरिजमाथि पनि समान २–१ ले कब्जा जमाउन सफल भएको थियो ।

https://twitter.com/ICC/status/1092047177747230720

आइतबार आइसीसी एकेडेमी ग्राउण्डमा भएको निर्णायक टि–२० म्याच बर्षाका कारण अबेर शुरु हुँदै दश ओभरमा छोट्याईएको थियो । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाए भने अर्का युवा ब्याट्सम्यान सन्दिप जोराले २८ रनको महत्वपूर्ण योगदान दिए । स्मरणीय छ, १७ बर्षिय सन्दिपले पहिलो टि–२० म्याचमा पनि ५३ रनको नटआउट अर्धशतकीय पारी खेल्दै अन्तर्राष्ट्रिय टि–२० म्याचमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी समेत बनेका थिए ।

बलिङतर्फ युएईका लागि मोहम्मद नाविद र आमिर ह्यातले २–२ विकेट लिए । त्यस्तै जहुर खान, सुल्तान अहमद र मोहम्मद बुटाले समान १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरहरुको कसिलो बलिङ सामू निरीह बन्दै १० ओभरमा ८ विकेट खर्चिएर ९० रन मात्र बनाउन सक्यो । युएईका लागि शाइमन अनवरले ३० तथा ओपनर गुलाम शाबिरले २५ रन बनाए तापनि घरेलु टोलीका लागि त्यो प्रर्याप्त बनेन ।

नेपालका लागि करन केसी, अविनाश बोहरा र ललित राजवंशीले समान २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सन्दिप लामिछानेले १–१ विकेट हात पारे । खेलमा करन केसी म्यान अफ द म्याच घोषित भए भने नेपालकै अविनाब बोहरा म्यान अफ द सिरिज घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...