सिरिजमा नेपालको शानदार पूनरागमन

काठमाडौं (खेलदैनिक) । दिपेन्द्र सिंह ऐरीले शानदार ४७ रनको नटआउट पारी खेलेपछि युएई विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टि–२० म्याचमा नेपालले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । अन्तिम ओभरको दोस्रो तथा तेस्रो बलमा ऐरीले लगातार छक्का तथा चौका प्रहार गर्दै नेपाललाई सिरिजमा फर्काए ।

१०८ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभर खेल्दै ६ विकेटको क्षतिमा १११ रन बनाएर जित हात पार्यो । शुरुवाती ४ विकेट सस्तोमा गुमाएपछि दबाबमा परेको नेपालको पारी ऐरीले धान्दै टालीलाई रोमाञ्चक जित दिलाए ।

यसअघि दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा टस जित्दै पहिले ब्याटिङ रोजेको युएईले ४९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रनको योगफल तयार पारेको थियो । युएईको पारी धराशायी पार्ने क्रममा बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विकेट लिए भने सन्दिप लामिछाने, करन केसी र सोमपाल कार्मीले २–२ विकेट लिए ।

उता नेपालको पारीमा करन केसी र पवन सर्राफले पनि क्रमश २० र १८ रनको महत्वपूर्ण पारी खेले । खेलमा नेपालका दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै तीन म्याचको सिरिज नेपालले १–१ को बराबरी गरेको छ । सिरिज अन्तरगत तेस्रो तथा निर्णायक टि–२० दुबई मै आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...