सन्दिपले किर्तिमान बनाउँदा पहिलो टि–२० मा नेपाल पराजित

काठमाडौं (खेलदैनिक) । युएई विरुद्धको पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले २१ रनको हार बेहोरेको छ ।

आइसीसी एकेडेमी ग्राउण्डमा टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले युएईलाई निर्धारित २० ओभरमा १५६ रन बनाउन दियो । युएईका लागि म्यान अफ द म्याच समेत घोषित शाइमन अनवरले ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोहम्मद उसमानले पनि ३० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कार्मी र अविनाश बोहराले १–१ विकेट हात पारे ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । यद्यपि नेपालका लागि नटआउट ५३ रनको अधशतकीय पारी खेलेका सन्दिप जोराले भने एक विशेष किर्तिमान बनाए ।

केवल १७ बर्ष १०३ दिनको उमेरमा अर्धशतक बनाएका सन्दिपले अन्तर्राष्ट्रिय टि–२० मा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने पुरुष क्रिकेटर समेत बने ।

त्यस्तै सोमपाल कार्मी र कप्तान पारस खड्काले क्रमशः २७ र २५ रनको योगदान दिए तापनि त्यो नेपालको हार टार्न प्रर्याप्त बनेन । यो हारसँग नेपाल तीन म्याचको सिरिजमा १–० ले पछि परेको छ । सिरिज अन्तरगत दोस्रो टि–२० म्याच पनि शुक्रबार दुबई मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...