खड्काको किर्तिमानी शतकसँगै नेपाललाई ऐतिहासिक सिरिज

काठमाडौं (खेलदैनिक) । कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपाली क्रिकेटको इतिहासमा पहिलो एकदिवसीय शतक बनाएपछि नेपालले एकदिवसीय क्रिकेटमा पहिलो सिरिज जितेको छ ।

दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा सम्पन्न तेस्रो तथा निर्णायक खेलमा नेपालले घरेलु युएईलाई ४ विकेटले हराउँदै तीन म्याचको सिरिजमाथि २–१ ले कब्जा जमाउन सफल भयो

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोली युएईलाई निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाउन दियो । युएईका लागि शाइमन अनवरले सर्वाधिक ८७ रन बनाए भने मोहम्मद बुटाले ५९ रनको नटआउट पारी खेले ।

बलिङतर्फ भने करन केसी र पारस खड्काले २–२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कार्मीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने म्यान अफ द म्याच समेत घोषित कप्तान खड्काको ११५ रनको शतकीय पारीको सहयोगमा ४४.४ ओभरमा ६ विकेट गुमाएर २५५ रन बनाउँदै ऐतिहासिक जित हात पारेको थियो । खड्काले आफ्नो पारीमा १०९ बलको सामना गर्दै १५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले पनि ३१ रन बनाए भने सोमपाल कार्मी र आरिफ शेख क्रमश २६ र २१ रनमा नाबाद रहे । बलिङतर्फ युएईका लागि इमरान हैदर र अशफाक अहमदले २–२ लिंदा मोहम्मद नाविद र कादिर अहमदले १–१ विकेट आफ्नो नाममा लेखाए ।

नेपालले युएई विरुद्ध अब ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय टि–२० सिरिज खेल्ने कार्यक्रम छ । टि–२० सिरिजका सबै खेलहरु आइसीसी एकेडेमी ग्राउण्ड मै हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...