शानदार जितका साथ सिरिजमा फर्कियो नेपाल

काठमाडौं (खेलदैनिक) । सोमपाल कामीले एकदिवसीय क्रिकेटमा मेडन पाँच विकेटको हल लिएपछि युएई भ्रमणमा रहेको नेपालले घरेलु टोली विरुद्ध शनिबार शानदार जित हात पारेको छ ।

शुक्रबार मात्र दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा भएको पहिलो एकदिवसीयमा ३ विकेटको हार बेहोरेको नेपालले शनिबार भने सोही मैदानमा १४५ रनको फराकिलो जित हात पार्दै सिरिज १–१ ले बराबरी गर्न सफल भयो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १४२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ५८ बलमा ५५ रनको आक्रमक अर्धशतकीय पारी खेले । केवल १६ बर्ष १४६ दिन पुगेका रोहितले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बने ।

त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले पनि ४४ रनको योगदान दिए भने आरिफ शेखले २९ रन बनाए । त्यसैगरी कप्तान पारस खड्का र अर्का ओपनर बिनोद भण्डारीले पनि समान २१–२१ रनको योगदान दिए ।

उता जवाफी लक्ष्य पछ्याएको युएई भने केवल १९.३ ओभर खेल्दै ९७ रनमा अलआउट भयो । युएईका लागि मध्यक्रमका ब्याट्सम्यान मुहम्मद उसमानले २६ तथ ओपनर अशफाक अहमदले २० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

https://twitter.com/ICC/status/1089106776228855809

बलिङतर्फ नेपालका लागि म्यान अफ द म्याच समेत घोषित सोमपाल कामीले ६.३ ओभर बलिङ गर्दै १ मेडन राखेर ३३ रन खर्चिदै ५ विकेट लिए । त्यस्तै अर्का युवा बलर सन्दिप लामिछानेले पनि ४ ओभर बलिङ गर्दै १ मेडन राखेर २४ रन खर्चिदै ४ विकेट लिए ।

https://twitter.com/ICC/status/1089122534262562816

यो जितसँगै तीन म्याचको एकदिवसीय सिरिज नेपालले १–१ को बराबरी गर्न सफल भएको छ । सिरिज अन्तरगत अन्तिम तथा तेस्रो एकदिवसीय म्याच सोमबार सोही मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...