पहिलो एकदिवसीयमा नेपाल पराजित

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीयमा हार बेहोरेको छ । शुक्रबार दुबईमा सम्पन्न पहिलो एकदिवसीयमा नेपालले घरेलु टोली युएईसँग ३ विकेटको हार बेहोरेको हो ।

आइसीसी एकेडेमी ग्राउण्डमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्दै ३३.५ ओभरमा ११३ रन बनाएर अलआउट हुन पुगेको थियो । नेपालका लागि सोमपाल कार्मीले ३० रन तथा आरिफ शेखले २५ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले गतिलो पारी खेल्न सकेनन् । कप्तान पारस खड्का पनि २० रनमा आउट हुँदा नेपाल थप दबाबमा परेको थियो ।

बलिङतर्फ युएईका लागि मोहम्मद नाविद र आमिर ह्यातले ३–३ विकेट लिए भने इमरान हैदरले २ विकेट लिए । त्यस्तै कादिर अहमदले पनि एक विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको युएईले पनि सामान्य लक्ष्य भेट्टाउन नेपालको कसिलो बलिङ विरुद्ध संघर्ष गर्नुपर्यो । यद्यपि ३२.१ ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाउँदै तीन विकेटको जित हात पार्न भने सफल भयो ।

घरेलु टोलीका लागि गुलाम शाबेरले सर्वाधिक ३० रन बनाउँदै जितको आधार तयार पारे । त्यस्तै आमिर ह्यात र इमरान हैदर क्रमश २४ र १८ रनमा नाबाद रही घरेलु टोलीलाई जित दिलाउन अहम भूमिका खेले ।

बलिङतर्फ नेपालका लागि करन केसी, पारस खड्का र सन्दिप लामिछानेले समान २–२ विकेट लिए । त्यसैगरी सोमपाल कामीले १ विकेट आफ्नो नाममा लेखाए । खेलमा अलराउण्ड प्रदर्शन गरेका युएईका आमिर ह्यात म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै तीन म्याचको सिरिजमा युएईले १–० को अग्रता बनाएको छ । सिरिज अन्तरगत दोस्रो एकदिवसीय म्याच शनिबार दुबई मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...