जितको ह्याट्रिक सहित नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा

(तस्विर : क्रिकेट थाइल्याण्ड)

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी वुमन टि–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले जितको ह्याट्रिक लगाएको छ ।

समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा सोमबार युएईलाई ६ विकेटले हरायो । यसअघि आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले आइतबार मात्र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रनको योगफल तयार पारेको थियो । युएईका लागि ओपनरद्वय छाया मुगल र इशा ओजाले क्रमश ३१ र २८ रनको योगदान दिए । त्यस्तै चमनी सेनेभिरत्नेले नटआउट २३ रन बनाईन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा १०६ रन बनाएर जित हात पार्यो । नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ३७ रन बनाईन् भने अर्की ओपनर काजल श्रेष्ठले २५ रनको योगदान दिईन् ।

लगातार तेस्रो जित हात पारेको नेपाल सेमिफाइनलमा समेत प्रवेश गरेको छ । समूह ए तर्फ नेपालले आफ्नो अन्तिम खेल आयोजक थाइल्याण्ड ए सँग बुधबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...