वुमन टि२० स्म्याश : नेपालको लगातार दोस्रो जित

(तस्विर : थाइल्याण्ड क्रिकेट)

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा जारी वुमन टि–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ । बैंककमा भएको समूह ए तर्फको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

टस हार्दै पहिले फिल्डिङको निम्तो पाएको नेपालले मलेसियालाई ६१ रनमा अलआउट गरेको थियो । नेपालका लागि सरिता मगरले ४ विकेट लिईन् भने कविता कुँवर, इन्दु वर्मा र नेरी थापाले १–१ विकेट लिईन् ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर ६२ रन बनाउँदै जित हात पार्यो । नेपालका लागि रोमा थापाले नटआउट २० रन बनाईन् भने ओपनर सीता राना मगरले १६ रनको योगदान दिईन् ।

यो नतिजासँगै दुई खेलबाट लगातार २ जित हात पारेको नेपाल ४ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै २ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने समान २ अंक भए तापनि नेट रनरेटका आधारमा पछि पर्दै इण्डोनेसिया तेस्रो स्थानमा छ । समूह चरणतर्फ नेपालले आफ्नो तेस्रो खेलमा सोमबार युएईको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...