नेपाली राष्ट्रिय क्रिकेटरहरुलाई आइसीसीले दुई बर्षको तलब दिने

काठमाडौं (खेलदैनिक) । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई दुई बर्षदेखि रोकिएको तलब दिने भएको छ ।

राष्ट्रिय दैनिक अन्नपुर्णपोष्टमा प्रकाशित खबरअनुसार नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली क्रिकेटको सबै जिम्मेवारी लिएको आइसीसीले राष्ट्रिय टोलीमा रहेका तीनै श्रेणी (ए, बी र सी) का खेलाडीहरुलाई दुई बर्षको तलब दिने भएको हो ।

स्मरणीय छ कि सन् २०१५ मा क्रिकेट संघले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाइृ विभिन्न तीन श्रेणीमा वर्गिकरण गरी सोही अनुसार पारिश्रमिक दिने निर्णय गरेको थियो । ए श्रेणीमा पर्ने खेलाडीहरुले ३५ हजार, बी श्रेणीमा पर्नेले २५ हजार र सी श्रेणीमा पर्नेले १५ हजार तलब पाउने छन् । यो रकम खेलाडीहरुकै अनुरोधमा आइसीसीले दिन लागेको हो ।

विकेटनेपालका अनुसार आइसीसीले पछिल्लोपटक सन् २०१७ मा नेपाली राष्ट्रिय क्रिकेटरहरुलाई तलब दिएको थियो । त्यतिबेला राष्ट्रिय टोलीमा परेका २३ खेलाडीहरुलाई आइसीसीले दिएको थियो । त्यतिबेला आइसीसीले ए श्रेणीका खेलाडीलाई ३५ हजार, बी श्रेणीमा रहेकालाई २५ हजार र सी श्रेणीमा रहेकालाई १० हजारका दरले एक बर्षको तलब उपलब्ध गराएको थियो ।

आइसीसीले राष्ट्रिय क्रिकेटरहरुलाई दिनुपर्ने आवश्यक दुई बर्षको तलब राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत दिने प्रक्रिया अगाडी समेत बढाईसकेको छ ।

यस्ता छन् तीन श्रेणीमा परेका क्रिकेटरहरु :

ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी
बी श्रेणी : आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल साह, रोहित पौडेल, ललित राजवंशी, शक्ति गौचन
सी श्रेणी : सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, किशोर महतो, बिनोद भण्डारी

ए श्रेणीमा परेका खेलाडीहरुले कुल रकम ८ लाख ४० हजार पाउनेछन् भने बी श्रेणीमा परेका खेलाडीहरुले ६ लाख पाउनेछन् । त्यस्तै सी श्रेणीमा रहेका खेलाडीहरुले ३ लाख ६० हजार प्राप्त गर्ने विकेटनेपालले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...