ललितपुर बन्यो तेस्रो इपिएल च्याम्पियन

काठमाडौं (खेलदैनिक) । रोमाञ्चक फाइनल भिडन्तमा भैरहवा ग्ल्याडिएटर्सलाई १४ रनले हराउँदै ललितपुर प्याट्रिअट्सले तेस्रो एभरेष्ट प्रिमियर लिग (इपिएल) को उपाधि जित्न सफल भएको छ ।

किर्तिपुर मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले ओपनर जयकिशन कोल्सवालाको ५७ रनको अर्धशतकीय पारीको सहयोगमा १५५ रनको योगफल तयार पारेको थियो । ललितपुरको पारीमा अर्का ओपनर गौरव तोमरले २३ रन बनाए भने सन्दिप झोराले २४ रनको योगदान दिए ।

भैरहवाको बलिङ

बलिङतर्फ भैरहवाका लागि कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलमा मात्र दुई ओभर बलिङ गरेका कार्कीले केवल १५ रन खर्चिए । त्यस्तै मोहम्मद नाविक र रेयान टेन डसचेटले समात्र २–२ विकेट आफ्नो नाममा लेखाए भने शरद भेषवाकर र भुवन कार्कीले १–१ लिए ।

लक्ष्य पछ्याएको भैरहवा निरीह बन्यो

उता १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभर ९ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो । भैरहवाका लागि ओपनर प्रदिप ऐरीले सर्वाधिक ३४ रन बनाए भने रवि इन्दर सिंहले २९ रनको योगदान दिए ।

ललितपुरको कसिलो बलिङ

उता भैरहवालाई खुलेर खेल्न नदिएको ललितपुरका लागि म्यान अफ द फाइनल समेत घोषित ललित राजवंशीले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै योगेन्द्र कार्की र पवन सर्राफले २–२ विकेट आफ्नो नाममा लेखाए ।

अभागी भैरहवा

इपिएलमा भैरहवाको यो लगातार दोस्रो फाइनल भिडन्तमा भोगेको हार थियो । यसअघि गत संस्करणको फाइनलमा पनि स्थान बनाएको भैरहवाले त्यतिबेला बिराटनगर वारियर्ससँग १ रनको हार बेहोर्दै उपविजेतामा चित्त बुझाउन परेको थियो ।

ललितपुरलाई २५ लाख

विजेता बनेको ललितपुरले उपाधिसहित नगद २५ लाख हात पारेको छ भने उपविजेता भैरहवाले १० लाखमा चित्त बुझाएको छ । प्रतियोगिता भरि कुल ३३७ रन बनाएका भैरहवाका रवि इन्दर सिंह प्लेयर अफ द सिरिज घोषित भए । उनले एक थान टिभिएस मोटरसाइकल प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...