भैरहवा एभरेष्ट प्रिमियर लिगको फाइनलमा

काठमाडौं (खेलदैनिक) । ब्याटिङ र बलिङ दुवैमा जमेपछि भैरहवा ग्ल्याडिएटर्स जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार सम्पन्न दोस्रो क्वालीफायरमा भैरहवाले काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । अब भैरहवाले फाइनलमा शनिबार ललितपुर प्याट्रिअट्ससँग उपाधिका लागि भिड्नेछ ।

बिहीबार किर्तिपुर मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको भैरहवाले कसिलो बलिङ गर्दै काठमाडौंलाई १०० रनमै अलआउट गरेको थियो । काठमाडौंका लागि सन्दिप रजाली र प्रदिप साहुले क्रमश २७ र २५ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानहरुले खासै गतिलो योगदान दिन सकेनन् ।

बलिङतर्फ भैरहवाका लागि कुशल मल्लले ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए भने मोहमद नाविदले २ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै अविनाश बोहरा र कप्तान शरद भेषवाकरले समान १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको भैरहवाले १७ ओभर खेल्दै ४ विकेटको क्षतिमा १०२ रन बनाएर जित हासिल गर्यो । भैरहवाका लागि ओपनर रेयान टेन डसचेटले सर्वाधिक ४५ रन बनाए भने रवी इन्दर सिंहले ३१ रन बनाउँदै जितको आधार तयार पारे । बलिङतर्फ काठमाडौंका लागि शम्सद शेखले २ विकेट लिए भने प्रदिप साहुले १ विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...