भैरहवा इपिएलको दोस्रो क्वालीफयरमा प्रवेश

(तस्विर : विकेटनेपालं)

काठमाडौं (खेलदैनिक) । इलिमिनेटर भिडन्तमा चितवन टाईगर्सलाई ४ विकेटले हराउँदै भैरहवा ग्ल्याडिएटर्स जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालीफायरका लागि छनौट भएको छ ।

किर्तिपुर मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको भैरहवाले चितवनलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनाउन दियो । चितवनका लागि दिपेन्द्र संह ऐरी एक्लैले ५६ रन बनाउँदै अर्धशतकीय पारी खेले ।

बलिङतर्फ भैरहवाका लागि मोहम्मद नाविदले ३ विकेट लिए भने अविनाश बोहराले २ विकेट हात पारे । त्यस्तै रेयान टेन डसचेट, कृष्ण कार्की र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभर खेल्दै ६ विकेटको क्षतिमा १४२ रन बनाएर जित हासिल गरेको थियो । भैरहवाका लागि म्यान अफ द म्याच समेत घोषित ओपनर प्रदिप ऐरीले ४२ रनको महत्वपूर्ण पारी खेल्दै जितको आधार तयार पारेका थिए । त्यस्तै तल्लो क्रमका कुशल मल्ल र रोहित पौडेलले क्रमश २७ र २४ रनको नटआउट पारी खेल्दै भैरहवाको जितमा महत्वपूर्ण योगदान दिए । त्यसअघि कप्तान शरद भेषवाकरले पनि २९ रन बनाए ।

बलिङतर्फ चितवनका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिंदा दिपेन्द्र सिंह ऐरी र कमल भण्डारीले समान १–१ विकेट आफ्नो नाममा लेखाए । यो जितसँगै भैरहवाले अब भोली बिहीबार काठमाडौं किंग्ससँग दोस्रो क्वालीफायर खेल्नेछ । दोस्रो क्वालीफायरमा बिजयी हुने टोलीले शनिबार ललितपुर प्याट्रिअट्ससँग उपाधिका लागि फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...