नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एकदिवसीय सिरिज खेल्ने भएको छ । यसै बर्षको ४ देखि २५ मार्चसम्म जिम्बाब्वेमा सम्पन्न विश्वकप छनौटतर्फ नेपालले आठौं स्थान हासिल गरेपछि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो ।

एकदिवसीय मान्यता पाएको पाँच महिनापछि नेपालले गत अगस्तमा नेदरल्याण्डस् विरुद्ध उसकै घरमा दुई अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेलेको थियो । दुई म्याचको त्यो सिरिजतर्फ पहिलो एकदिवसीयमा नेपालले ५५ रनको हार बेहोरेको थियो भने ३ अगस्तका दिन भएको दोस्रो एकदिवसीयमा १ रनको रोमाञ्चक जित हात पारेको थियो । एकदिवसीय क्रिकेटमा नेपालको त्यो पहिलो र ऐतिहासिक जित समेत थियो ।

नेपाली क्रिकेट साइट विकेटनेपालका अनुसार नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने लगभग निश्चित भएको छ । यद्यपि यसबारे विस्तृत रुपमा यसै साता भित्र टुगो लाग्ने बताइएको छ । स्मरणीय छ कि नेपालले अन्तिम एकदिवसीय म्याच एसिया कप छनौटतर्फ गत अगस्तको ३० तारीखका दिन युएईसँग नै खेलेको थियो । त्यो खेलमा नेपालले ७८ रनको हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...