धनगढी प्रिमियर लिगको अक्सन पुष १२ गते

काठमाडौं (खेलदैनिक) । धनगढी प्रिमियर लिग (डिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणका लागि खेलाडीहरुको अक्सन यहि पुष १२ गते हुने भएको छ । साथै प्रतियोगितामा खेलाडी दर्ताका लागि पुष ४ बुधबार (भोली) देखि फर्म खुला हुने आयोजकले जनाएको छ ।

यसपटक रुस्लानलाई मूख्य प्रायोजकका रुपमा पाएको डिपिएलको तेस्रो संस्करण आउँदो माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुनेछ । फाप्ला मैदानमा डिपिएलको आयोजना हुन लागेको यो पहिलोपटक समेत हो ।

https://twitter.com/WicketNepal/status/1075023036661813250

नेपाली क्रिकेट साईट विकेटनेपालका अनुसार यसपटक अक्सनमा समावेश हुने सबै खेलाडीहरुलाई एकै वर्गमा राखिएको छ । यसअघिको संस्करणमा खेलाडीहरुलाई ए, बी र सी श्रेणीमा राखिएको थियो । त्यस्तै नाम दर्ताका लागि खेलाडीहरुले फर्म भर्दा आफ्नो न्युनतम मुल्य ३० हजारदेखि २ लाख ५० हजारसम्म राख्न सक्ने आयोजकले जनाएको छ ।

डिपिएलमा कुल ६ टोलीहरुको सहभागिता रहनेछ । यद्यपि सहभागी टोलीहरुको नाम भने अहिले सार्वजनिक गरिएको छैन । गत संस्करणको डिपिएल उपाधि टिम चौराहा धनगढीले जितेको थियो । फाइनलमा टिम चौराहाले बिराटनगर किंग्सलाई ६२ रनले हराउँदै उपाधि जित्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...